नेपाल–चीन कूटनीतिक सहकार्य
युब नाथ लम्साल:--- सन् १९५५ (विसं २०१२) लाई नेपालको कूटनीतिक इतिहासमा दुई कारणले महत्वपूर्ण मोडका रूपमा लिइन्छ । एउटा लामो प्रतीक्षा र प्रयासपछि नेपालले औपचारिक रूपमा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गर्यो भने अर्को नेपालले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्यो । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल–चीन सम्बन्ध विभिन्न तहमा विकसित हुँदै आएको छ । नेपाल र चीनबिच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्ष मात्र भएको छ तर ऐतिहासिक दृष्टिले नेपाल–चीन सम्बन्धलाई प्रागैतिहासिक तथा सभ्यतापूर्व कालसम्मै जोडिन्छ । काठमाडौँ उपत्यका कुनै समय मानवबस्तीविहीन विशाल जलाशय थियो र तिब्बती पठारबाट आएका चिनियाँ सन्त मञ्जुश्रीले उपत्यकाको दक्षिण–पश्चिमी भागमा रहेको चोभारमा गल्छी बनाएर पानी बाहिर पठाएपछि यहाँ मानवबस्तीको सुरुवात भयो । कालान्तरमा यही बस्ती विस्तार हुँदै नेपाल राष्ट्रका रूपमा विकसित भएको भन्ने किंवदन्ती छ । यस अर्थमा नेपाल र चीनका जनताबिचको सम्पर्क र सहकार्यको इतिहास प्राचीनकालदेखि नै जोडिएको देखिन्छ । नेपाली सभ्यता र राष्ट्रनिर्माणको प्रारम्भिक चरणदेखि नै यी दुई एसियाली छ...