ट्रम्पको नीतिले विश्वमा पार्ने प्रभाव
युवनाथ लम्साल :-
डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेको एक महिनाभन्दा अलि बढी भएको छ । राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै ट्रम्पले ठूलो संख्यामा कार्यकारी आदेशहरूमा हस्ताक्षर गरे, जसले स्वदेश र विदेशमा व्यापक प्रभाव पारेको छ ।
युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी) को निलम्बनले अमेरिका र विश्वभर झन् बहस सिर्जना गरेको छ । यो निर्णयले युएसएआईडीमार्फत अमेरिकी सहायता प्राप्त गर्ने धेरै देशहरूलाई असर गरेको छ । सुरुमा युएसएआईडीका गतिविधिहरू तीन महिनाकालागि स्थगन गरिएको छ र युएसएआईडीमा कार्यरत सबै अमेरिकी कर्मचारीहरूलाई फिर्ता बोलाइएको छ । राष्ट्रपति ट्रम्पका नजिकका सहयोगी एलोन मस्कले युएसएआईडीलाई ‘अपराधी संगठन’समेत भनेकाले तीन महिनापछि पनि यो एजेन्सी पुनर्जीवित हुने सम्भावना कम छ । पेरिस जलवायु सम्झौता, विश्व स्वास्थ्य संगठन लगायत अन्य अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूबाट पनि अमेरिका पछि हट्ने ट्रम्पको निर्णयको विश्वव्यापी प्रभाव पर्नेछ ।
ट्रम्पले गरेका धेरैजसो कार्यहरू आफ्नो चुनावी अभियानका क्रममा गरेका वाचाहरूसँग मिल्दोजुल्दो छन् । उनले ‘मेक अमेरिका ग्रेट अगेन’ MAGA) अर्थात् ‘अमेरिकालाई पुन महान बनाऔ’ भन्ने नाराको एक अभिन्न अंगको रुपमा अर्थाइएको खर्च कटौतीका लागि पनि थुप्रै कार्यहरू घोषणा गरेका छन्। उनको MAGA अभियानले संयुक्त राज्य अमेरिका आर्थिक रुपले पहिला भन्दा कम्जोर भएको छ र अमेरिकालाई पुन शक्तिशाली देशको रूपमा पुनर्जीवित गर्न आवश्यक छ भन्ने संकेत गर्दछ ।
संयुक्त राज्य अमेरिका अझै पनि विश्वको एकमात्र महाशक्ति हो र यसको प्रमुख प्रतिद्वन्द्वी चीन सैन्य, अर्थव्यवस्था र प्रविधिको क्षेत्रमा अमेरिका भन्दा अझै पनि धेरै पछि छ। बाँकी अन्य शक्तिहरूले संयुक्त राज्य अमेरिकाको प्रभुत्व र महाशक्तिको हैसियतलाई चुनौती दिन सक्ने अबस्थामा छैनन् । यसको अलाबा अमेरिकाले द्विपक्षीय र बहुपक्षीय तहमा विश्वमा विभिन्न देशहरुसंग बिबिध खाले रणनीतिक, सैनिक, आर्थिक, राजनीति तथा ब्यापारिक संयन्त्र को निर्माण, सहकार्य र संलग्नतालाई अझ विस्तार गरेको छ। सहकार्य र आपसी सहयोग को माध्यमले मात्र अमेरिकाको शक्ति र महानता कायम रहन्छ भन्ने बिगतको अमेरिकी धारणा भन्दा ट्रम्पको नीति बिल्कुल फरक देखिन्छ ।
उनको यो नीतिले अमेरिकालाइ महान पक्कै बनाउदैन उल्टो विश्वका अन्य देशको अमेरिकाप्रतिको विश्वास र विश्वसनीयता माथि प्रश्नचिन्ह खडा गरेको छ । यो सत्य हो कि विश्वव्यापी संलग्नता र अन्तरास्ट्रिय प्रतिबद्धताहरूबाट पछि हट्ने नीतिले अमेरिकी प्रतिष्ठा, शक्ति र विश्वसनीयतालाई माथि उठाउन सक्दैन, बरु यसले क्षीण बनाउँछ । निश्चित रुपमा यो नीतिले अमेरिकालाई महान बनाउन मद्दत नगर्न सक्छ ।
अन्तरास्ट्रिय स्तरमा ट्रम्पले युक्रेन युद्ध अन्त्य सहित केही प्रतिबद्धताहरू ब्यक्त गरेका छन्। उनी सत्तामा आएदेखि नै आफ्नो वाचाप्रति इमान्दार देखिन्छन् र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत युद्धमा संलग्न दलहरूसँग सम्पर्कमा छन् । विविन्न तथ्य र घटनाक्रम हरुले के संकेत गर्छन भने ट्रम्प युक्रेन युद्ध समाप्त गर्न गम्भीर छन् । युक्रेन नर्थ एट्लान्टिक सन्धि संगठन (नाटो) मा सामेल नहुने मस्कोको प्रमुख चिन्तालाई सम्बोधन गर्दै युद्धविराम गर्ने प्रस्ताब अगाडी सारेका छन् । तर यो प्रस्ताबलाइ युक्रेन र यूरोपेली देशहरुले स्वीकार गर्ने अवस्था मा देखिन्नन्। साथै हालै भएको ट्रंप र युक्रेनका रास्ट्रपति जेलेंस्की बिचको बार्तामा भएको गतिरोधले समस्याको सामाधान भने जस्तो सहज हुने देखिन्न ।
युक्रेन युद्ध अन्त्य गर्न उनी गम्भीर र अधिक व्यावहारिक देखिन्छन् भने, ट्रम्पको दृष्टिकोणले मध्यपूर्वमा गर्न चाहेको पूरा नहुन सक्छ किनकि केही अरब नेताहरूले गाजामा ट्रम्पको प्रस्तावमा आक्रोश व्यक्त गरेका छन्। यद्यपि ट्रम्पले यस सम्बन्धमा मध्यपूर्वका नेताहरूसँग सम्पर्क र परामर्श जारी राखेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, जापानी प्रधानमन्त्री शिगेरु इसिबा जोर्डनका राजा अब्दुल्ला, जेलेंस्की, फ्रान्सेली राष्ट्रपति म्याक्रोन, ब्रिटिस प्रधानमन्त्री स्ट्रामर आदि नेताहरू सँग ट्रम्पले युक्रेन र मध्य पूर्व युद्ध लगायतका धेरै मुद्दाहरूमा छलफल गरेका छन्।
नेतान्याहु र राजा अब्दुल्लाहसँगको भेट पूर्णतया मध्यपूर्वको अवस्था र विशेष गरी इजरायल–हमास युद्ध अन्त्यमा केन्द्रित थियो। जापान वाशिंगटनको प्रमुख सहयोगी हो र इन्डो–प्यासिफिक रणनीति र त्तग्ब्म् को एक महत्त्वपूर्ण साझेदार हो, जसलाई इन्डो–प्यासिफिक क्षेत्रमा चीनको उदय र प्रभाव रोक्ने कार्यमा अमेरिकाको एक प्रमुख सहयोगीका रुपमा हेरिन्छ। यसबाहेक, जापान र चीनबीच पूर्वी चीन सागरमा केही क्षेत्रीय विवाद र रणनीतिक र अन्य विषयमा मतभेद छन् ।
अहिलेको भू–राजनीतिक परिप्रेक्ष्यमा एसिया अन्तर्राष्ट्रिय शक्तिको प्रमुख केन्द्र बनेको छ । भारतको स्थान पहिलेभन्दा बढी महत्वपूर्ण भएको छ । मलाक्का स्ट्रेटदेखि अरब सागरसम्मको हिन्द महासागरमा भारतको रणनीतिक अवस्थिति ले भारत को भूमिका र स्थानलाई उच्च बनाएको छ जसका कारण अन्य शक्तिहरूले रणनीतिक सहयोग र घनिष्ठ सम्बन्ध बढाउन चाहन्छ ।
भारत अहिले पाँचौं ठूलो अर्थतन्त्र र क्षेत्रीय शक्ति हो। चीनको अभूतपूर्व वृद्धि अर्को कारक हो जसले अन्तर्राष्ट्रिय राजनीतिमा भारतलाई उच्च भूमिका दिएको छ। चीनको उदयबाट खुसी नभएका अन्तर्राष्ट्रिय शक्तिहरू विशेष गरी संयुक्त राज्य अमेरिकाले वर्तमान भूराजनीतिक परिप्रेक्ष्यमा चीनलाई रोक्न र कमजोर बनाउन भारतसँग गठबन्धन र सहयोग गर्न खोजिरहेका छन्। भारतको सक्रिय सहयोग र भूमिकाबिना अमेरिकाले चीनको उदयलाई रोक्न सक्दैन। भारत पनि चीनको विश्वव्यापी शक्तिका भएको सहज मानेको छैन।
संयुक्त राज्य अमेरिका र भारतको यो साझा एजेन्डा हो जसमा वाशिंगटनलाई नयाँ दिल्लीको आवश्यकता छ। यस पृष्ठभूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको अमेरिका भ्रमण भयो । ट्रम्पले राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेको एक महिनाभित्र ह्वाइट हाउसमा ट्रम्पलाई भेट्ने मोदी चौथो विश्व नेता हुन् । यसले वर्तमान अन्तर्राष्ट्रिय भूराजनीतिक खेलमा भारतको महत्त्वलाई बुझाउँछ।
मोदीको भ्रमणका क्रममा अमेरिका र भारतले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा दीर्घकालीन प्रभाव पार्ने रणनीतिक, सुरक्षा, प्राविधिक, आर्थिक, ऊर्जा र व्यापारसम्बन्धी धेरै विषयमा सहमति गरेका छन्। मोदीले ट्रम्पको ःब्न्ब् र उनको मेक इन्डिया ग्रेट अगेन (ःक्ष्न्ब्) विश्वलाई महान बनाउन फ्युजन हुने भनेका छन् ।
डोनाल्ड ट्रम्पको यो दोस्रो कार्यकाल हो । २०१७ देखि २०२१ सम्मको उनको पहिलो कार्यकाल अन्य अमेरिकी राष्ट्रपतिहरु भन्दा केहि मामिलामा फरक थियो। डोनाल्ड ट्रम्प सायद पहिलो अमेरिकी राष्ट्रपति हुन्, जसले आफ्नो पहिलो कार्यकालमा युद्ध सुरु गरेनन् । अब, उनले युद्ध अन्त्य गर्ने र विश्वमा शान्ति प्रवद्र्धन गर्ने वाचा गरेका छन् ।
ट्रम्पले सुनिश्चित गर्न खोजेको अर्को कुरा अन्य देशहरूसँग पारस्परिक व्यापार हो। उनले स्पष्ट पारेका छन् कि यदि कुनै देश आफ्ना सामानहरूमा कम कर चाहन्छन् भने उनीहरूले अमेरिकी निर्यातमा पनि भन्सार घटाउनुपर्छ। अर्को कुरा अमेरिकी सहयोगीहरूले आफ्नो अर्थतन्त्र र रक्षा क्षमताहरूलाई बलियो बनाउन आवश्यक छ भन्ने ट्रम्प को नीति देखिन्छ ताकि उनीहरूले स्वतन्त्र रूपमा आफ्नो हितको रक्षा गर्न सकून्। ट्रम्पले आफ्नो चुनावी अभियानमा धेरै कुराको वाचा गरेका थिए। अब युद्ध अन्त्य गर्ने र विश्वमा शान्ति कायम गर्नेलगायतका आफ्ना वाचाहरूलाई व्यवहारमा उतार्न उनी कसरी अगाडि बढ्छन्, त्यो समयले बताउने छ।
१९ फाल्गुन २०८१, सोमबार १९ : ३५ बजे
https://www.drishtinews.com/archives/374931
Comments
Post a Comment