अन्तर्राष्ट्रिय सम्बन्धको जग
अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः ।
पूर्वापरौ तोयनिधी विगाह्य स्थितः पृथिव्या इव मानदण्डः ।।
(उत्तर दिशामा अवस्थित जहाँ देवताको आत्मा बसोवास गरेको छ, त्यहाँ हिमालय नाम गरेको पर्वत शृङ्खला छ र त्यस पर्वत शृङ्खलामा एक राजा (सबैभन्दा अग्लो) पर्वत छ । त्यस पर्वतको पूर्व पश्चिमबाट ठुला नदी बगेर समुद्रमा मिसिन्छन्, त्यही नै पृथ्वीको केन्द्र (मानदण्ड) हो ।)
यसरी महान् संस्कृत कवि कालिदासले ‘कुमारसम्भव’ महाकाव्यमा ‘हिमालय पृथ्वीको केन्द्र हो’ भनी उल्लेख गरेका छन् । नेपाल दक्षिण एसियामा अवस्थित एक प्राचीन हिमाली देश हो । नेपाल विश्वकै प्राचीन देशमध्ये एक हो भने दक्षिण एसियामा सबैभन्दा पुरानो देश हो । लगभग सम्पूर्ण दक्षिण एसिया बेलायतको उपनिवेश हुँदासमेत नेपाल स्वतन्त्र राष्ट्रको रूपमा आफ्नो अस्तित्व कायम राख्न सफल रह्यो । जतिबेला बेलायती साम्राज्यमा कहिल्यै सूर्य अस्ताउँदैन भन्ने गरिन्थ्यो, नेपालले आफ्नो स्वतन्त्र र सार्वभौम अस्तित्वलाई जोगाइ राख्यो, जसका लागि नेपालले बेलायतसँग युद्धसमेत गर्नु परेको थियो । यसरी एक स्वतन्त्र राष्ट्रका रूपमा नेपालको पहिचान र अस्तित्वको लामो गौरवपूर्ण इतिहास छ । यसका लागि हाम्रा पुर्खाको बलिदानप्रति हामी नतमस्तक छौँ र हुनै पर्छ ।
नेपाल चिनियाँ र दक्षिण एसियाली सभ्यताको सङ्गमस्थलका रूपमा उभिएको छ । नेपाल केवल एउटा देश मात्र होइन, यो एक सभ्यता हो । अर्थात् नेपाल हिमाली वा ‘हिमवत्खण्ड’ सभ्यताको केन्द्र हो । विभिन्न पुरातात्त्विक प्रमाणहरूले नेपाल एक हिमाली सभ्यताका रूपमा इपू ३०० देखि अर्थात् आजभन्दा २३०० वर्षभन्दा अघिदेखि अस्तित्वमा रहेको तथ्य औँल्याएका छन् तर केही विद्वान्को धारणा अनुसार नेपालको इतिहास रामायणकाल अर्थात् इपू १५०० सम्म पुग्छ ।
नेपालको अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्धको इतिहास अत्यन्तै लामो छ । हिन्दु पौराणिक कथाहरू र ग्रन्थले यसतर्फ सङ्केत गर्छन् । किंवदन्ती अनुसार नेपालको दक्षिणी मैदानमा जनकपुर वा मिथिला नामक एक शक्तिशाली राज्य धेरै पहिले अस्तित्वमा थियो, जसका राजा जनक दक्षिण एसियाभरि आफ्नो विद्वत्ता र कुशल शासनका लागि प्रसिद्ध थिए । करिब त्यही समयमा उत्तरी भारतमा अयोध्या नामक एक शक्तिशाली राज्य थियो, जसका राजा दशरथ थिए । यी दुई राज्यबिच वैवाहिक सम्बन्धमार्फत मैत्रीपूर्ण सम्बन्ध स्थापित भयो । अयोध्याका युवराज राम (जसलाई हिन्दु धर्ममा भगवान् रामका रूपमा पूजा गरिन्छ) ले जनकपुरकी राजकुमारी सीतासँग विवाह गरे, जसलाई हिन्दुले देवीका रूपमा सम्मान गर्छन् । यो सम्भवतः दक्षिण एसियामा अन्तर्राष्ट्रिय सम्बन्धसँग सम्बन्धित पहिलो घटना हो ।
इतिहासकार बलचन्द्र शर्माका अनुसार महाभारत काल (इपू १५०० तिर) मा नेपालका किराँत राजाहरूको हस्तिनापुर तथा भारतका अन्य राज्यसँग निकट र राम्रो सम्बन्ध थियो । एक किरात राजा जितेदस्तीले महाभारत युद्धमा सहभागिता जनाएको विश्वास गरिन्छ । उनले पाण्डवको पक्षमा उभिएर कौरवविरुद्ध युद्ध लडेका थिए र त्यस युद्धबाट कहिल्यै फर्केर आएनन् । सम्भवतः उनको मृत्यु युद्धमै भयो भन्ने कुरा इतिहासकार शर्माले ‘नेपालको ऐतिहासिक रूपरेखा’ नामक पुस्तकमा उल्लेख गरेका छन तर महाभारत युद्धका विवरणमा यसको स्पष्ट उल्लेख पाइँदैन र यसको प्रामाणिकता पनि निश्चित भएको छैन ।
बुद्ध र बौद्ध धर्म पनि नेपाललाई दक्षिणका भारतीय राज्य र उत्तरको चीनसँग जोड्ने महत्त्वपूर्ण आधार हुन् । सिद्धार्थ गौतम वा बुद्धको जन्म दक्षिण नेपालको कपिलवस्तुस्थित शाक्य राज्यका राजकुमारका रूपमा लुम्बिनीमा भयो र पछि इपू छैटौँ शताब्दीको मध्यतिर भारतको बोधगयामा ज्ञान प्राप्त गरी बुद्ध बने । वंशावली अनुसार प्राचीन भारतका शक्तिशाली राज्यमध्ये एक मगधका सम्राट अशोक तीर्थयात्राका क्रममा बुद्धको जन्मस्थल लुम्बिनी पुगे र बौद्ध धर्मप्रति सम्मानको प्रतीकस्वरूप त्यहाँ एक शिलास्तम्भ स्थापना गराए, जुन ‘अशोक स्तम्भ’ का नामले चिनिन्छ । पछि सम्राट अशोक काठमाडौँ पनि आए, जहाँ उनले आफ्नी छोरी चारुमतीको विवाह काठमाडौँका राजकुमार देवपालसँग गराए ।
काठमाडौँमा हालको चाबहिल र पशुपतिनाथ मन्दिरबिचको क्षेत्रलाई तिनै राजकुमार देवपालको नामबाट ‘देवपतन’ नामक नयाँ सहर स्थापना गरियो भने चाबहिल क्षेत्रको नाम राजकुमारी चारुमतीकै नामबाट राखिएको भनिन्छ । यो ऐतिहासिक घटना भएको इपू २५० तिरदेखि नै नेपालको वैदेशिक सम्पर्क र सम्बन्धको लामो इतिहास रहेको प्रमाण हो ।
कौटिल्यको ‘अर्थशास्त्र’ मा पनि नेपाल र मगधबिचको सजीव व्यापारिक सम्बन्ध उल्लेख गरेको पाइन्छ । लिओ ई. रोजले ‘नेपाल स्ट्राटेजी फर सर्भाइबल’ भन्ने पुस्तकमा नेपालको वैदेशिक सम्पर्क र सम्बन्ध प्राचिन कालदेखि थियो भनेका छन् । रोजका अनुसार इतिहासको एक कालखण्डमा काठमाडौँ उपत्यका तिब्बत हुँदै दक्षिण एसिया र पूर्वी एसियाबिच ‘बौद्धिक र व्यावसायिक केन्द्र’ (इन्टेलेक्चुअल एन्ड कमर्सियल एन्ट्रेपो) थियो । यसबाट पनि नेपालको बैदेशिक सम्पर्क र सम्बन्ध धेरै लामो र पुरानो हो भन्ने बुझिन्छ ।
दक्षिण एसियाली उपमहाद्वीपको इतिहास पनि उथलपुथलमय छ । कुनै बेला शक्तिशाली शासक अर्थात् साम्राज्यको रूपमा उदाउँथे त कहिले विभिन्न सा–साना राज्यमा विभाजित हुन्थे । मौर्य, गुप्ता, मुगल तथा ब्रिटिस जस्ता साम्राज्यले शासन गरे । पछिल्लो समयमा थुप्रै ससाना राज्यलाई ब्रिटिस उपनिवेशवादी शासकले एकीकृत गरी इन्डिया नामको विशाल देशको स्वरूप दिए । दक्षिणका यी सबै राज्यसँग नेपालको विविध प्रकारको छिमेकी सम्बन्ध थियो । इतिहासको विभिन्न कालखण्डमा नेपाल माथि आक्रमणका प्रयास भए र नेपालले युद्ध पनि लड्नु प¥यो तर समग्रमा नेपालको दक्षिणी छिमेकीसँगको सम्बन्ध मैत्रिपूर्ण नै रह्यो ।
नेपालको शाह वंशको इतिहास पनि भारतको चित्तौडका राजपुत परिवारसँग जोडिएको छ । इतिहासकारका अनुसार चित्तौडमा ऋषि राज भट्टारक नाम गरेका एक राजा थिए । भाषा वंशावलीका अनुसार भट्टारकका वंशज भूपाल राणाजी राव मुसलमानको आक्रमणबाट बच्न नेपाल प्रवेश गरे र पश्चिम नेपालको भिरकोटमा आफ्नो राज्य स्थापना गरे । भूपाल राणाजी रावका दुई छोरा थिए –खाँचा खान र मिचा खान । खाँचा खानले पिताको भिरकोट राज्य उत्तराधिकारमा पाए । कान्छा छोरा मिचा खानले हालको स्याङ्जा जिल्लाको नुवाकोटमा आफ्नो राज्य स्थापना गरे, जुन पछि कास्कीसम्म विस्तार भयो ।
मिचा खानका वंशजमध्ये एक कुलमण्डन शाह कास्कीका राजा बने । भनिन्छ, कुलमण्डन शाहले दिल्लीका एक सम्राटबाट ‘शाह’ उपाधि प्राप्त गरेका थिए र त्यसपछि खानको सट्टा शाहलाई थरका रूपमा प्रयोग गर्न थाले । कुलमण्डन शाहका सात छोरामध्ये एक यशोब्रह्म शाह लमजुङका जनताको आग्रहमा त्यहाँका राजा बने र यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहले गोरखामा आफ्नो राज्य स्थापना गरे । द्रव्य शाहका वंशज पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरी आधुनिक र एकीकृत नेपालको आधारशिला खडा गरे ।
त्यसैगरी नेपाल–चीन सम्बन्ध पनि त्यत्तिकै पुरानो, ऐतिहासिक र सभ्यतासँग सम्बन्धित छ । यदि मञ्जुश्रीको किंवदन्तीलाई मान्ने हो भने नेपालको चीनसँगको सम्बन्ध इस्वी संवत् सुरु हुनुभन्दा शताब्दीऔँ अघिदेखि नै रहेको देखिन्छ तर इतिहासकार विजयकुमार मानन्धरका अनुसार शिलालेखीय प्रमाणले नेपाल–चीन सम्पर्क इस्वीको पाँचौँ शताब्दीमा भएको देखाउँछन् र आधिकारिक सम्पर्क सातौँ शताब्दीमा सुरु भएको थियो । सेङ–त्साइ, फा–ह्सिएन र ह्वेन–त्साङले नेपाल भ्रमण गरी नेपालको जनजीवन र अवस्थाबारे जीवन्त र रोचक विवरण प्रस्तुत गरेका थिए । जसले गर्दा चिनियाँहरूले नेपालप्रति रुचि र आकर्षण बढाए, यसले नेपाल र चीनलाई नजिक ल्याउन र दुई देशबिचको सम्बन्ध विकास गर्न सहयोग ग¥यो । यसले प्राचीन कालदेखि नै नेपाल–चीनबिच जनस्तरका सम्पर्क र सम्बन्ध रहेको प्रमाणित गर्छ ।
नेपाल र चीनलाई यति नजिकबाट जोड्ने मुख्य सूत्र बौद्ध धर्म नै हो । लिच्छवि शासनको प्रारम्भिक कालमा चीनको तिब्बत क्षेत्रमा स्रोङ–त्सान–गाम्पो एक शक्तिशाली र महत्त्वाकाङ्क्षी राजा थिए । उनले नेपाली राजकुमारी भृकुटीसँग विवाह गरे । भृकुटीले तिब्बतमा बौद्ध धर्मलाई संस्थागत गरिन र पछि यो सम्पूर्ण चीनमा पनि फैलियो । यसले पनि नेपाल–चीन सम्बन्धलाई अझ गहिरो बनाउन महत्त्वपूर्ण भूमिका खेल्यो । त्यसयता नेपाल–चीन सम्बन्ध निरन्तर विकास हुँदै र परिपक्व हुँदै आएको छ ।
नेपालको इतिहास उतारचढावले भरिएको छ । त्यस्तै यसको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति पनि उतारचढावपूर्ण रहेको छ । नेपालको आकार र प्रभाव सधैँ परिवर्तनशील रह्यो । कहिले नेपाल विशाल देशको रूपमा रह्यो भने कुनै कालखण्ड विभिन्न ससाना टुक्रा राज्यमा विभाजित भयो । जसले यसको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रत्यक्ष प्रभाव पा¥यो । जब नेपालको भूभाग विस्तार हुन्थ्यो, तब दक्षिण र उत्तर दुवैतर्फ यसको कूटनीतिक प्रभाव व्यापक हुन्थ्यो तर जब नेपाल विभाजित अवस्थामा रहन्थ्यो, यसको कूटनीतिक प्रभाव र सम्बन्ध पनि कमजोर हुन्थ्यो ।
विदेश नीति र सम्बन्धको खास जग भने पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपश्चात् मात्र निर्माण भयो । गोरखा जस्तो सानो पहाडी राज्यका राजा पृथ्वीनारायण शाहले १८ औँ शताब्दीको उत्तरार्धमा विभिन्न साना र विभाजित राज्यलाई एकताबद्ध गरी एकीकृत र आधुनिक नेपालको जग बसाए । यससँगै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा नयाँ चरणको सुरुवात भयो । पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुङ्गाबिचको तरुल’ भनी नेपालको भूराजनीतिक स्थिति, बाध्यता र यथार्थताको सटिक व्याख्या गरेका छन् । यो वर्तमान अवस्थामा पनि त्यत्तिकै सान्दर्भिक छ । त्यति मात्र नभई छिमेकीसँग कस्तो सम्बन्ध राख्ने र हाम्रो छिमेकी नीति कस्तो हुनु पर्छ भन्ने खाका पनि प्रदान गरेका छन् । ती ‘दिव्य उपदेश’ मा उल्लेख छ र नेपालको परराष्ट्र सम्बन्ध अहिलेसम्म पनि त्यसैमा आधारित छ ।
Comments
Post a Comment