सङ्क्रमणमा विश्व व्यवस्था
वर्तमान विश्व व्यवस्थाले कोल्टो फेर्न लागेको छ । सन् १९९० को दशकदेखि अमेरिकाको नेतृत्वमा चलिरहेको एकध्रुवीय विश्व व्यवस्थामा परिवर्तनका स्पष्ट सङ्केत देखिएका छन् । सभ्यताको विकाससँगै समय, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, आर्थिक तथा प्राविधिक क्षेत्रमा आएको परिवर्तनले विश्व व्यवस्थामा पनि परिवर्तन ल्याउँछ । यो प्रकृतिको नियम हो र निरन्तर चल्ने प्रक्रिया हो । त्यसैले वर्तमान विश्व व्यवस्थामा परिवर्तन आउने कुरा पनि निश्चित छ । यसमा सबै खाले विद्वान्, विश्लेषक तथा भूराजनीतिका ज्ञाता सहमत छन् । जोन मियरसाइमर, किशोर महबुबानी, नोम चोम्स्की जस्ता प्रख्यात विद्वान् र विश्लेषक वर्तमान विश्व व्यवस्था प्रभुत्ववादी भएकाले यसको परिवर्तन आवश्यक छ भन्ने मत राख्छन् ।
तर केही भूराजनीतिका विद्वान् र विश्लेषक वर्तमान विश्व व्यवस्था र शक्ति सन्तुलनमा खासै परिवर्तन नहुने र अमेरिका नेतृत्वको एकधु्रवीय विश्व व्यवस्था केही दशकसम्म कायम रहने विश्वास व्यक्त गर्दछन् । फ्रान्सिस फुकुयामा, जोसेफ नानी, रोबर्ट कागन तथा फरिद जाकारिया जस्ता विद्वान् र विश्लेषक यो खाले विचारका पक्षपाती हुन् । उनीहरूका अनुसार वर्तमान उदार लोकतान्त्रिक विश्व व्यवस्था नियममा आधारित व्यवस्था हो र विश्वशान्ति, शक्ति सन्तुलन र आर्थिक तथा सामाजिक न्याय र विकासका लागि यसको निरन्तरता आवश्यक छ ।
विश्व व्यवस्थामा परिवर्तन हुने विचार राख्ने विद्वान्मा पनि अब विकास हुने विश्व व्यवस्था र भावी शक्ति सन्तुलन कस्तो हुने छ भन्नेमा भने मतैक्य देखिँदैन । केही विश्लेषक अबको विश्व व्यवस्था दुईध्रुवीय हुने ठोकुवा गर्दै छन् भने कतिले अब बहुध्रुवीय विश्व व्यवस्था हुने आकलन गरिरहेका छन् । दुईध्रुवीय विश्व व्यवस्थाको वकालत गर्नेहरू एक ध्रुवको नेतृत्व वर्तमान महाशक्ति अमेरिकाले र अर्को ध्रुवको नेतृत्व जनवादी गणतन्त्र चीनले गर्ने विचार राख्दछन् । त्यस्तै बहुध्रुवीय विश्व व्यवस्था हुने मत राख्नेका अनुसार विश्वमा खास गरी तीन ध्रुव हुने छन्, जसको नेतृत्व संयुक्त राज्य अमेरिका, चीन र रुसले गर्ने छन् । साथै भविष्यमा भारत, ब्राजिल, दक्षिण अफ्रिका जस्ता देश पनि विश्व शक्तिका रूपमा उदाउन सक्ने बलिया आधार विकास भइरहेको उनीहरूको तर्क छ ।
राज्य शक्तिका विभिन्न रूप र आयाम हुन्छन् । अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा शक्ति र प्रभावका प्रमुख आधार तथा साधनमा देशको भूगोल र भौतिक आकार, रणनीतिक अवस्थिति, सैन्य तथा आर्थिक सामथ्र्य, प्राविधिक श्रेष्ठता, सामुद्रिक अवस्थिति हुन् । त्यस्तै नैतिक तथा सभ्यतागत मूल्यमान्यता, कला संस्कृति साहित्य, राजनीतिक तथा जनवैधता, मानव तथा प्राकृतिक स्रोतसाधन, गठबन्धन प्रणाली, गतिशील नागरिक समाज, स्वतन्त्र सञ्चार माध्यम, शैक्षिक संस्था तथा प्रणाली साथै व्यावहारिक विदेश नीति र कूटनीतिक कौशल पर्दछन् । विश्व सैन्य शक्ति, आर्थिक सामथ्र्य, प्राविधिक क्षमता र अन्तर्राष्ट्रिय गठबन्धन प्रकृतिका आधारमा अहिले पनि संयुक्त राज्य अमेरिका सबैभन्दा शक्तिशाली देखिन्छ । चीन हाल विश्वको दोस्रो ठुलो अर्थतन्त्र हो र भविष्यमा पहिलो स्थान हासिल गर्न प्रयासरत छ । चीनले सामाजिक, प्राविधिक र सैन्य क्षेत्रमा पनि उल्लेखनीय प्रगति हासिल गरेको छ । रुस सैन्य र सामरिक क्षमतामा बलियो भए पनि आर्थिक शक्तिमा अलि पछाडि छ । भारतलगायत अन्य देश अमेरिका र चीनको हाराहारीमा आइपुग्न केही समय अझै पर्खिनुपर्ने हुन्छ । त्यसैले अबको विश्व व्यवस्था दुईध्रुवीय हुने दिशातर्फ अगाडि बढिरहेको छ, जसमा एक ध्रुवको नेतृत्व अमेरिका र अर्को ध्रुवको नेतृत्व चीनले गर्ने छन् ।
विश्व व्यवस्थाको सैद्धान्तिक अवधारणाको इतिहास इसापूर्व चौथो शताब्दीतिर पुग्छ । चाणक्य अर्थात् कौटिल्यले आफ्नो मण्डल सिद्धान्तमा देश–देशबिचको सम्बन्ध कस्तो हुने भन्ने उल्लेख गरेका छन् । यसैलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा विश्व व्यवस्थाको पहिलो सिद्धान्तका रूपमा लिइन्छ । त्यसपछि १७ औँ शताब्दीमा खास गरी ३० बर्से युद्धको अन्त्यपछि युरोपमा वेस्टफेलिया शान्ति सन्धि भयो । यसले आधुनिक युगको नयाँ विश्व व्यवस्थाको जन्म दियो । यस व्यवस्थालाई वेस्टफेलियन व्यवस्था भनेर अहिलेसम्म पनि चिनिन्छ । वेस्टफेलियन सन्धिले युरोपको लामो द्वन्द्वको अन्त्य मात्र गरेन; देशको सार्वभौम समानता, भौगोलिक अखण्डता, कूटनीतिक मान्यता तथा सन्धिमा आधारित सम्बन्ध जस्ता अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व व्यवस्थाका केही आधारभूत सिद्धान्त र मान्यता स्थापित र संस्थागत ग¥यो । त्यसैले सन् १६४८ मा भएको यो सन्धि अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा कोसढुङ्गाका रूपमा स्थापित छ । यसले नयाँ सार्वभौम र स्वतन्त्र राष्ट्रको परिभाषा र यसका आधारको मान्यता स्थापित गर्नुका साथै स्वतन्त्र राष्ट्रबिचको सम्बन्धको आधार र चरित्रलाई पनि परिभाषित ग¥यो ।
‘लिग अफ नेसन्स’ निर्माण:-
पहिलो विश्वयुद्धपछि दिगो शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रयास भए र एउटा प्रभावशाली अन्तर्राष्ट्रिय संयन्त्र विकास गर्ने सहमति बन्यो । यसको फलस्वरूप ‘लिग अफ नेसन्स’ स्थापना भयो । विश्वमा शान्ति स्थापना र व्यवस्थापनका लागि ‘लिग अफ नेसन्स’ को निर्माण निश्चय पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय कदम थियो तर ‘लिग अफ नेसन्स’ विश्वमा युद्ध रोक्न र दिगो शान्ति स्थापना तथा विकास गर्ने कार्यमा सफल हुन सकेन । फलस्वरूप सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो र यो युद्धले ठुलो जनधनको विनाश ग¥यो ।
दोस्रो विश्वयुद्ध सन् १९४५ मा समाप्त भयो । दोस्रो विश्वयुद्धको अन्त्यपछि अर्को अन्तर्राष्ट्रिय संयन्त्रको विकास भयो र संयुक्त राष्ट्रसङ्घको जन्म भयो । यो पनि नयाँ विश्व व्यवस्था निर्माणको महत्वपूर्ण पाइला थियो । संयुक्त राष्ट्रसङ्घ निर्माण भएपछि अर्को विश्वयुद्ध भएको छैन । यो संयुक्त राष्ट्रसङ्घको एक महत्वपूर्ण सफलता हो । अर्को विश्वयुद्ध नभए पनि संसारमा युद्ध पूर्णतः रोक्न र प्रभावशाली तथा स्थायी शान्ति स्थापना गर्न भने पूर्णतः असफल भएको छ । अहिले पनि रुस–युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन युद्ध, अमेरिका–इरान तनावलगायत विभिन्न प्रकारका अन्य युद्ध जारी छन्, जसका कारण विश्व अहिले पनि तनाव र द्वन्द्वबाट गुज्रिरहेको छ ।
संयुक्त राष्ट्रसङ्घको स्थापनासँगै विश्वशान्ति र राष्ट्रहरूबिच सम्बन्धको अन्तर्राष्ट्रिय आधार बन्यो, जसलाई नियममा आधारित विश्व व्यवस्था भनिन्छ । यो व्यवस्थामाथि पनि प्रशस्त प्रश्न र आलोचना छन् । खास गरी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को संरचना र अधिकारक्षेत्रका विषय आलोचनाको प्रमुख कारण बनेका छन् । वर्तमान सुरक्षा परिषद्मा १५ सदस्यको व्यवस्था छ र पाँच स्थायी अर्थात् भिटो अधिकार भएका सदस्य छन् । स्थायी सदस्यमा संयुक्त राज्य अमेरिका, रुस, बेलायत, फ्रान्स र चीन हुन्, जोसँग भिटो अधिकार छ । आलोचकको भनाइमा संयुक्त राष्ट्रसङ्घको यो संरचनाले तत्कालीन शक्ति सन्तुलनको प्रतिनिधित्व गर्दथ्यो तर अहिले विश्वको शक्ति सन्तुलन र अवस्थामा व्यापक फरक छ र वर्तमान विश्वको शक्ति सन्तुलनलाई संयुक्त राष्ट्रसङ्घको वर्तमान संरचना र व्यवस्थाले प्रतिनिधित्व गर्न सक्दैन भन्ने भनाइमा केही हदसम्म सत्यता छ किनभने संयुक्त राष्ट्र सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमा युरोप महादेशबाट तीन सदस्य छन्, एसियाबाट एक र उत्तर अमेरिकाबाट एक छन् भने सिङ्गो दक्षिण अमेरिकी महादेश र अफ्रिका महादेशबाट कुनै प्रतिनिधित्व छैन । यसका कारण पनि संयुक्त राष्ट्रसङ्घको प्रभावकारिता र भूमिकामाथि प्रश्नचिह्न खडा भएको छ । त्यसैले अहिलेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को संरचना असन्तुलित भएको र यसमा सुधार गर्नुपर्ने देखिन्छ तर विभिन्न कमीकमजोरीका बाबजुद संयुक्त राष्ट्रसङ्घको विकल्प भने छैन । संयुक्त राष्ट्रसङ्घबिनाको विश्व अहिलेको अवस्थामा कल्पना पनि गर्न सकिन्न ।
वर्तमान विश्व सन् १९४५ को भन्दा बिलकुलै फरक छ । त्यतिबेलाको विश्वको शक्ति सन्तुलन र अहिलेको अवस्थामा आकाश जमिनको फरक छ । दोस्रो विश्वयुद्धपश्चात् दुईध्रुवीय विश्व व्यवस्थाको जन्म भयो, जसमा एक ध्रुवको नेतृत्व अमेरिकाले गर्दथ्यो भने अर्को ध्रुवको तत्कालीन सोभियत सङ्घले गर्दथ्यो । दुईध्रुवीय विश्व व्यवस्था सन् १९९१ मा सोभियत सङ्घको विघटनसँगै समाप्त भयो, जसलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २० औँ शताब्दीको सबैभन्दा ठुलो भूराजनीतिक दुर्घटनाका रूपमा व्याख्या गरेका छन् । यसपछि अमेरिका नेतृत्वको एकध्रुवीय विश्व व्यवस्थाको युग सुरु भयो, जुन हालसम्म कायम छ तर यो विश्व व्यवस्था पनि परिवर्तनको सँघारमा छ । विश्व व्यवस्थाको भविष्यबारे गरिने कुनै पनि विश्लेषण त्यसका आधारभूत जग र मान्यता कति सुदृढ र विश्वसनीय छ भन्ने कुरामा निर्भर हुन्छ ।
शक्तिराष्ट्रको टकराब:
शीतयुद्धपछिको विश्व व्यवस्थाका विशेषता संयुक्त राज्य अमेरिकाको प्रभुत्व, बहुपक्षीय संस्थाको विस्तार तथा उदार अन्तर्राष्ट्रिय मान्यताको व्यापकता आदि रहेका छन् । अहिले शक्ति सन्तुलनमा आएको परिवर्तन, तीव्र भूराजनीतिक प्रतिस्पर्धा तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई सञ्चालन गर्ने नियम र मान्यतामाथि बढ्दो दबाबका कारण विश्व व्यवस्था चुनौतीग्रस्त बन्दै गएको छ । यसकारण विश्व वर्तमान एकध्रुवीय व्यवस्थाबाट क्रमशः परिवर्तनको सङ्क्रमणकालीन अवस्थामा छ । अनुमान जस्तोसुकै भए पनि एकध्रुवीय अवस्था पक्कै रहँदैन । विश्वशान्ति र शक्ति सन्तुलनका दृष्टिले दुईध्रुवीय विश्व व्यवस्था उचित र बढी व्यावहारिक हुन्छ किनभने एकध्रुवीय व्यवस्था प्रभुत्ववादी हुन्छ भने बहुध्रुवीय व्यवस्था अलि बढी अराजक र असन्तुलित हुन्छ । दोस्रो विश्वयुद्धअगाडिको विश्व व्यवस्था बहुध्रुवीय भएका कारण अलि अराजक र असन्तुलित रह्यो, जसका कारण विश्व र सम्पूर्ण मानवजातिले युद्धको विभीषिका र यसबाट सृजित ठुलो विनाश बेहोर्नु प¥यो ।
विश्व व्यवस्था परिवर्तनको सँघारमा रहेकाले केही अनिश्चितता र अन्योल जरुर छन् । विभिन्न शक्ति र देशले आफ्नो स्वार्थ अनुसारको व्याख्या र अनुमान गरिरहेका छन् र त्यही अनुरूपको रणनीति अपनाएका छन् । संयुक्त राज्य अमेरिकाको प्रयत्न वर्तमान एकध्रुवीय विश्व व्यवस्थालाई जोगाउन र निरन्तरता दिनु छ । चीन अमेरिकाको प्रमुख प्रतिस्पर्धीका रूपमा उदाएको छ र चीनले दुईध्रुवीय व्यवस्था चाहन्छ । रुस अर्को शक्ति हो, जसको चाहना बहुध्रुवीय विश्व व्यवस्था देखिन्छ । त्यसैले यी शक्तिराष्ट्रले आफ्नो स्वार्थ र चाहना अनुसारको रणनीति अपनाएका छन् र त्यही अनुसार अगाडि बढेका देखिन्छन् । विभिन्न देशका आफ्ना स्वार्थ हुन्छन् र त्यही दिशातर्फ ध्यान केन्द्रित हुनु स्वाभाविकै हो । त्यसैले शक्तिराष्ट्रको स्वार्थमा टकराब हुने र त्यसको असर अरू देशले पनि बेहोर्नुपर्ने हुन्छ । नेपाल जस्तो देशले अझ बढी सतर्क हुनुपर्ने हुन्छ किनभने अबको भूराजनीतिको टकराब एसियामा हुँदै छ । साथै हाम्रा दुवै छिमेकी मित्रराष्ट्र विश्वशक्ति हुने दौडका प्रतिस्पर्धी भएका कारण पनि एसिया भूराजनीतिक द्वन्द्वको केन्द्रविन्दु हुँदै छ ।
( Published in Gorkhapatra on July 26, 2026, to read original article please visit: https://gorkhapatraonline.com/news/216009
Comments
Post a Comment