कूटनीतिमा व्यक्तित्व प्रभाव
युब नाथ लम्साल :---
कुनै पनि देशको परराष्ट्रनीति र अन्तर्राष्ट्रिय सम्बन्धका आधार मूलतः राष्ट्रिय हितबाट निर्देशित हुन्छन् । राष्ट्रिय हित सामान्यतया राज्यका स्थायी सरोकारका विषय हुन्छन र हुन् । राष्ट्रिय हित भन्नाले मूलतः राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र आर्थिक समृद्धि पर्छन् । परराष्ट्रनीतिको सञ्चालन यिनै आधारभूत विषयमा केन्द्रित हुन्छ । त्यसैले विदेशनीतिमा मूलतः निरन्तरता हुन्छ र सरकार वा शासनव्यवस्था परिवर्तन हुँदैमा परराष्ट्रनीतिको आधारभूत दिशा सामान्यतः परिवर्तन हुँदैन । विदेशनीति र कूटनीतिमा व्यक्तिविशेषले पनि कहिलेकाहीँ उल्लेखनीय फरक पार्न सक्छ । त्यसका लागि सम्बन्धित नेताको क्षमता, दक्षता, दृष्टिकोण र प्रतिबद्धतामा भर पर्छ ।
नेपालको परराष्ट्रनीतिको मूल उद्देश्य सधैँ राष्ट्रिय हितबाट निर्देशित हुँदै आएको छ; जसको प्राथमिक आधार राष्ट्रिय अस्तित्व र सुरक्षाको सुनिश्चितता हो । वर्तमान संविधानले नेपालको विदेशनीतिका उद्देश्य, मार्गदर्शक सिद्धान्त र प्राथमिकताहरू स्पष्ट रूपमा निर्दिष्ट गरेको छ । संविधानले राष्ट्रिय हितलाई समेत स्पष्ट रूपमा परिभाषित गरेको छ र ती राष्ट्रिय हितको संरक्षण तथा प्रवर्धनलाई नेपालको विदेशनीतिको प्रमुख उद्देश्यका रूपमा स्थापित गरेको छ ।
रणनीतिक सन्तुलन:---
१८ औँ शताब्दीको मध्यमा आधुनिक राष्ट्रका रूपमा उदय भएदेखि नै दुई ठुला शक्तिबिचको भौगोलिक अवस्थितिका कारण सार्वभौमिकताको रक्षा गर्नु नेपालको प्रमुख चुनौती रहँदै आएको छ । पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुङ्गाबिचको तरुल’ का रूपमा चित्रण गर्दै उत्तरतर्फ मैत्रीपूर्ण र दक्षिणतर्फ सतर्कतापूर्ण सम्बन्ध राख्ने कूटनीतिक आधार तय गरेका थिए । विक्रम संवत् १८७२ को सुगौली सन्धिपछि नेपालको भौगोलिक विस्तारको अभियान सदाका लागि अन्त्य भयो र यसको विदेशनीति अस्तित्व रक्षातर्फ मोडियो । राणा शासनकालमा यो नीति धेरै हदसम्म राणा कुलीनतन्त्रको सत्ता बचाउने उद्देश्यमा केन्द्रित रहे पनि यसै कालखण्डमा देशको कूटनीतिक दायरा फराकिलो बन्ने अवसर पनि पायो । सुगौली सन्धिबाट गुमाएका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर ब्रिटिस भारतबाट नेपालले पुनः प्राप्त ग-यो; जसमा जङ्गबहादुर राणाको भूमिकालाई सकारात्मक रूपमा मूल्याङ्कन गर्नु पर्छ ।
विशेष गरी प्रधानमन्त्री पद्मशमशेर राणाको पालामा २००४ सालमा संयुक्त राज्य अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना हुनु नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा एक अत्यन्त महत्त्वपूर्ण मोड साबित भयो । यसले नेपालको परराष्ट्रनीतिको विविधीकरण र विस्तारको नयाँ ढोका खोल्यो । दोस्रो विश्वयुद्धपश्चात् विश्वराजनीतिमा अमेरिका प्रमुख शक्तिका रूपमा उदाएको परिप्रेक्ष्यमा लिइएको यो निर्णयको ठुलो रणनीतिक महत्त्व थियो । साढे दुई शताब्दीभन्दा लामो यो यात्रामा छिमेकीहरूको स्वरूप र सामथ्र्य फेरिए पनि नेपालको भूराजनीतिक सूक्ष्म अवस्था र सन्तुलनको आवश्यकता भने आज पनि उत्तिकै सान्दर्भिक छ ।
परिवर्तनका संवाहक:---
विसं २००७ को राजनीतिक परिवर्तनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका लागि नयाँ सम्भावनाको ढोका खोल्यो तर उत्तरको छिमेकी देश चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने विषयमा नेपाली विदेशनीति सञ्चालकहरूमा पुरानो मानसिकताको प्रभाव अझै देखिन्थ्यो । टङ्कप्रसाद आचार्यले प्रधानमन्त्रीका रूपमा विदेशनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएका कतिपय महत्त्वपूर्ण विषयमा दूरगामी निर्णय लिए । चीनसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापनामा तत्कालीन राजा महेन्द्र र टङ्कप्रसाद आचार्यको भूमिका महत्त्वपूर्ण रह्यो ।
विदेशनीतिको इतिहासमा गौरवका साथ स्मरण गरिने अर्का व्यक्तित्व बिपी कोइराला हुन् । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रिय हितलाई दृढतापूर्वक प्रस्तुत गर्ने काम गरे । बिपी कोइरालाकै कार्यकालमा नेपालले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना ग-यो र नेपाल इजरायललाई मान्यता दिने दक्षिण एसियाकै पहिलो देश बन्यो । त्यसपछि अन्य दक्षिण एसियाली मुलुकले पनि इजरायलसँग सम्बन्ध स्थापना गरे ।
प्रजातन्त्र समाप्त गरी निर्दलीय पञ्चायती व्यवस्थाका नाममा निरङ्कुश राजतन्त्र स्थापना गरेका कारण राजनीतिक दृष्टिले राजा महेन्द्र आलोचित छन् तर नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, विदेशनीति र कूटनीतिक इतिहासमा उनको योगदानलाई अलग्गै र विशेष रूपमा मूल्याङ्कन गर्नु पर्छ । नेपालको स्वतन्त्र र सन्तुलित विदेशनीतिलाई अघि बढाउन तथा विश्वमञ्चमा नेपाललाई असंलग्न राष्ट्रका रूपमा स्थापित गर्न राजा महेन्द्रको भूमिका महŒवपूर्ण रह्यो । उनकै शासनकालमा नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य बन्यो, असंलग्न आन्दोलनमा सहभागी भयो र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरी नेपालको विदेश सम्बन्धलाई थप विविधीकरण गरियो । राजा महेन्द्रले सत्ता समाल्दा केवल चार देश बेलायत, संयुक्त राज्य अमेरिका, भारत र फ्रान्ससँग मात्र नेपालको कूटनीतिक सम्बन्ध थियो तर २०२८ मा उनको निधन हुँदा नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका देशको सङ्ख्या ५२ पुगिसकेको थियो । यही अवधिमा नेपाल संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को अस्थायी सदस्यसमेत निर्वाचित भएको थियो ।
राजा वीरेन्द्रको भूमिका पनि नेपालको विदेशनीति र कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण रह्यो । विदेश सम्बन्धको विविधीकरणलाई निरन्तरता दिँदै उनले विश्वमञ्चमा नेपालको भूमिकालाई अझ सव्रिmय र प्रभावकारी बनाउने प्रयास गरे । यही अवधिमा नेपाल दोस्रो पटक संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को अस्थायी सदस्य निर्वाचित भयो । राजा वीरेन्द्रको ‘शान्ति क्षेत्र प्रस्ताव’ नेपालको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अर्को महत्त्वपूर्ण पहल थियो । यस प्रस्तावमार्फत नेपाललाई विश्वशान्तिको पक्षधर राष्ट्रका रूपमा स्थापित गर्ने प्रयास गरिएको थियो । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का चार स्थायी सदस्य संयुक्त राज्य अमेरिका, चीन, बेलायत र फ्रान्ससहित ११६ देशले उक्त प्रस्तावलाई समर्थन गरेका थिए । अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा यो नेपालको उल्लेखनीय उपलब्धि थियो तर दुर्भाग्यवश २०४६ सालको राजनीतिक परिवर्तनपछि उक्त प्रस्ताव निष्व्रिmय बन्न पुग्यो ।
कूटनीतिक क्षयीकरण:--
विसं २०४६ को राजनीतिक परिवर्तनपछि नेपालको विदेशनीति र कूटनीतिक सञ्चालन क्रमशः विचलित, राजनीतीकरण र विचारधारात्मक हुँदै गएको देखिन्छ । प्रधानमन्त्री रहेका बेला नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले नेपालको विदेशनीतिको आधार लोकतन्त्र र मानव अधिकार हुने बताएका थिए । २०६४ सालको राजनीतिक परिवर्तनपछि यो प्रवृत्ति अझ तीव्र भयो र नेपालको कूटनीतिक कमजोरी एकपछि अर्को घटनामा प्रकट हुन थाल्यो ।
नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्ष हुँदा सार्क प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । त्यस्तै भुटानी शरणार्थी समस्याको व्यवस्थापनमा पनि नेपालको कूटनीतिक क्षमता र कमजोरी स्पष्ट रूपमा उजागर भयो । विदेशनीति र कूटनीति सञ्चालनमा नेतृत्व तहमा देखिएको अपरिपक्वता, असङ्गति र दूरदृष्टिको अभावले अन्तर्राष्ट्रिय समुदायमा नेपालको कूटनीतिक छवि र क्षमतामा प्रभाव पारेको छ ।
नयाँ आशा:---
यतिबेला प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ । नयाँ सरकारले विदेशनीति र कूटनीति जस्ता दीर्घकालीन रूपमा प्रभाव पार्ने क्षेत्रमा विगतका कमजोरी सुधार गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहले काठमाडौँस्थित विभिन्न देशका राजदूतसँग सामूहिक भेटघाट गरी आवश्यकताका आधारमा अन्यसँग पनि भेटघाट गर्नुभएको छ; जुन उचित र व्यावहारिक छ । विगतमा कतिपय नेता र मन्त्रीले यस्ता भेटघाटमा कूटनीतिक मर्यादा र आचारसंहिता पालना गरेको पाइएको थिएन । कूटनीतिक आचारसंहिताविपरीत व्यक्तिगत रूपमा विदेशी कूटनीतिज्ञलाई सरकार प्रमुखसँग सहज पहुँच दिने परम्परालाई वर्तमान प्रधानमन्त्रीले अन्त्य गर्नुभएको छ । यसले कूटनीतिक आचारसंहिता पालना गर्ने दिशामा सकारात्मक सङ्केत दिएको छ र नयाँ सरकारले कूटनीतिक आचारसंहितालाई कडाइसाथ कार्यान्वयन गर्ने सङ्केत पनि गरेको छ । त्यसै गरी परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न कूटनीतिक भेटवार्ता र कार्यक्रममा विदेशनीति र कूटनीतिक विषयमा दिएका अभिव्यक्ति तुलनात्मक रूपमा सन्तुलित र परिपक्व देखिन्छन् । यस्ता अभिव्यक्तिमा राष्ट्रिय प्राथमिकता र हितलाई केन्द्रमा राखेको देखिन्छ ।
‘सुरुआत राम्रो भयो भने आधा काम पूरा हुन्छ’ भन्ने उखान झैँ नयाँ सरकारको सुरुवात सकारात्मक देखिएको छ । भनिन्छ, बिहानीले दिनको सङ्केत दिन्छ । त्यसैले केही अपवादका अतिरिक्त नयाँ सरकारका प्रारम्भिक कार्यले जनतामा सरकारप्रति उच्च आशा र अपेक्षा पैदा गरेका छन् । अबको मुख्य चुनौती भनेको यी प्रारम्भिक सकारात्मक सङ्केतलाई व्यावहारिक परिणाममा रूपान्तरण गर्नु हो । विदेशनीति र कूटनीतिका क्षेत्रमा पनि नयाँ सरकारले जनअपेक्षा अनुरूप काम गर्न सक्यो भने नेपालको अन्तर्राष्ट्रिय छवि, विश्वसनीयता र राष्ट्रिय हितको संरक्षणमा महत्त्व पूर्ण योगदान पुग्न सक्छ । यसमा सरकार सफल हुनै पर्छ ।
विदेशनीति राज्यको दीर्घकालीन राष्ट्रिय हितबाट निर्देशित हुने भएकाले यसमा निरन्तरता अपरिहार्य हुन्छ तर सरकार सञ्चालन गर्ने व्यक्तिहरूको क्षमता, दृष्टिकोण, विवेक र प्रतिबद्धताले त्यसको प्रभावकारिता निर्धारण गर्छ । सही समयमा सही निर्णय लिन सक्ने सक्षम नेतृत्वले नेपाल जस्तो जटिल र संवेदनशील भूराजनीतिक अवस्थिति भएको मुलुकलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली ढङ्गले प्रस्तुत गर्न सक्छ । इतिहासले पनि यो पाठ सिकाएको छ । त्यसैले नेपालको विदेशनीतिमा संस्थागत निरन्तरतासँगै सक्षम, दूरदर्शी र राष्ट्रिय हितप्रति प्रतिबद्ध नेतृत्व पनि उत्तिकै आवश्यक छ । वर्तमान नेतृत्वले यो कुरा मनन गरेकै होला भन्ने आशा र विश्वास गरौँ ।
https://gorkhapatraonline.com/news/219754
Comments
Post a Comment