नेपाल–चीन कूटनीतिक सहकार्य
युब नाथ लम्साल:---
सन् १९५५ (विसं २०१२) लाई नेपालको कूटनीतिक इतिहासमा दुई कारणले महत्वपूर्ण मोडका रूपमा लिइन्छ । एउटा लामो प्रतीक्षा र प्रयासपछि नेपालले औपचारिक रूपमा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गर्यो भने अर्को नेपालले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्यो । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल–चीन सम्बन्ध विभिन्न तहमा विकसित हुँदै आएको छ । नेपाल र चीनबिच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्ष मात्र भएको छ तर ऐतिहासिक दृष्टिले नेपाल–चीन सम्बन्धलाई प्रागैतिहासिक तथा सभ्यतापूर्व कालसम्मै जोडिन्छ ।
काठमाडौँ उपत्यका कुनै समय मानवबस्तीविहीन विशाल जलाशय थियो र तिब्बती पठारबाट आएका चिनियाँ सन्त मञ्जुश्रीले उपत्यकाको दक्षिण–पश्चिमी भागमा रहेको चोभारमा गल्छी बनाएर पानी बाहिर पठाएपछि यहाँ मानवबस्तीको सुरुवात भयो । कालान्तरमा यही बस्ती विस्तार हुँदै नेपाल राष्ट्रका रूपमा विकसित भएको भन्ने किंवदन्ती छ । यस अर्थमा नेपाल र चीनका जनताबिचको सम्पर्क र सहकार्यको इतिहास प्राचीनकालदेखि नै जोडिएको देखिन्छ । नेपाली सभ्यता र राष्ट्रनिर्माणको प्रारम्भिक चरणदेखि नै यी दुई एसियाली छिमेकीबिचको सम्बन्ध मैत्रीपूर्ण, सहयोगात्मक र सौहार्दपूर्ण रहँदै आएको छ ।
चीन चार हजार वर्षभन्दा लामो लिखित इतिहास भएको प्राचीन सभ्यता हो । पाँच हजार वर्षभन्दा बढी समयदेखि निरन्तर अस्तित्वमा रहेको चीन विश्वकै सबैभन्दा पुराना सभ्यतामध्ये एक हो । शताब्दीयौँसम्म चीन विज्ञान, प्रविधि, कला र संस्कृतिका क्षेत्रमा विश्वको अग्रणी सभ्यताका रूपमा रह्यो । विश्व इतिहासको एउटा लामो कालखण्डमा चीनको सभ्यतागत विकास उल्लेखनीय रूपमा उन्नत थियो । गौरवशाली इतिहास तथा समृद्ध कला र संस्कृतिको विरासत बोकेको चीन पछिल्ला दशकमा पुनः विश्व शक्तिका रूपमा उदाएको छ ।
आज चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र हो र विज्ञान तथा प्रविधिलगायतका क्षेत्रमा पनि उसले उल्लेखनीय प्रगति गरेको छ । सन् १९७० को दशकको अन्त्यतिर देङ सियाओपिङको नेतृत्वमा सुरु भएको आर्थिक सुधार र खुलापनको नीतिले चिनियाँ अर्थतन्त्रलाई तीव्र गतिमा अघि बढायो । यद्यपि चीनको आधुनिक रूपान्तरणको आधार सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनासँगै तयार भएको थियो । सन् १९४९ मा तियानआनमेन चोकमा आयोजित विशाल समारोहमा माओत्सेतुङले चिनियाँ क्रान्तिको विजय घोषणा गर्दै नयाँ चीनको उदयको उद्घोष गरेका थिए ।
अर्थतन्त्रको तीव्र विकाससँगै चीनले अन्तर्राष्ट्रिय मञ्चमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न थालेको छ । अन्तर्राष्ट्रिय दायित्व र आफ्ना राष्ट्रिय हितलाई ध्यानमा राख्दै चीनले आफूलाई विश्व शक्तिका रूपमा स्थापित गर्दै लगेको छ । चीनको उदय र विकासले विश्व व्यवस्थामा पनि महत्वपूर्ण परिवर्तन ल्याएको छ । विश्व एकध्रुवीय व्यवस्थाबाट बहुध्रुवीयतातर्फ उन्मुख भइरहेको सन्दर्भमा चीनको बढ्दो भूमिका उल्लेखनीय छ । चीनको पहलमा स्थापित ब्रिक्स, साङ्घाई सहयोग सङ्गठन तथा एसियाली पूर्वाधार लगानी बैङ्क जस्ता संरचना र संस्थाले विश्व प्रणालीमा वैकल्पिक सहकार्य तथा विकास–वित्तका नयाँ आयाम सिर्जना गरेका छन् । आर्थिक वृद्धिसँगै चीनको सांस्कृतिक तथा कूटनीतिक प्रभाव पनि विश्वका विभिन्न क्षेत्रमा विस्तार भएको छ ।
चीनको विदेश नीतिलाई अन्य केही मुलुकको जस्तो दबाब र बल प्रयोगमा आधारित नभई पारस्परिक सहयोग, विश्वास र सद्भावनाबाट निर्देशित भएको रूपमा प्रस्तुत गरिन्छ । चीनले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गर्दै विकासमा साझेदार बन्ने प्रयास गरेको बताउँदै आएको छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र भए पनि चीनले आफूलाई अझै विकासशील दक्षिण विश्व अर्थात् ग्लोबल साउथका राष्ट्रहरूको समूहकै सदस्यका रूपमा प्रस्तुत गर्छ । त्यसैले ग्लोबल साउथका मुलुकसँगको सम्बन्ध सुदृढ र गहिरो बनाउनु चीनको विदेश नीतिको महत्वपूर्ण प्राथमिकता रहँदै आएको चिनियाँ नेता तथा अधिकारी बताउँछन् ।
चीनले एसिया, अफ्रिका, मध्यपूर्व, पूर्वी युरोप र दक्षिण अफ्रिकालगायत विभिन्न क्षेत्रका विकासशील मुलुकसँग पारस्परिक सहयोगलाई प्राथमिकता दिँदै आएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्य चिनियाँ नेताले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका धारणा र प्रतिबद्धतामा पनि यस्तो विश्वदृष्टिकोण झल्किन्छ । नेपाल–चीन सम्बन्ध सद्भावना, सहयोग र पारस्परिक विश्वासमा आधारित रहँदै आएको छ । आकार, जनसङ्ख्या र अर्थतन्त्रका हिसाबले चीन नेपालभन्दा निकै ठुलो भए पनि असल छिमेकीका रूपमा चीनले नेपाललाई विभिन्न क्षेत्रमा महत्वपूर्ण साझेदारका रूपमा हेर्दै आएको छ । नेपालप्रतिको चिनियाँ चासोलाई केवल सुरक्षा, रणनीति, राजनीति वा अर्थतन्त्रबाट मात्र निर्देशित नभई निकट छिमेकीप्रतिको सद्भावना र जिम्मेवारीबाट पनि प्रेरित भएको अनुभव हुन्छ ।
नेपाल–चीन सम्बन्ध नेपालको सभ्यताको इतिहास जत्तिकै पुरानो मानिन्छ । प्राचीनकालदेखि नै दुई देशका जनताबिच सम्पर्क रहँदै आएको थियो । यद्यपि औपचारिक तहको सम्बन्ध भने पाँचौँ शताब्दीमा लिच्छवि कालदेखि प्रारम्भ भएको इतिहासमा उल्लेख पाइन्छ । चीनमा ताङ वंशको शासन रहेका बेला नेपालका लिच्छवि राजा नरेन्द्रदेवले एक भारतीय राजाविरुद्धको सङ्घर्षमा चिनियाँ पक्षलाई सैन्य सहयोग गरेको उल्लेख छ जसलाई नेपाल–चीन सम्बन्धको इतिहासमा महत्वपूर्ण घटनाका रूपमा लिइन्छ । त्यसपछि चिनियाँ शासकले नेपाललाई महत्वपूर्ण र सम्मानित छिमेकीका रूपमा हेर्दै आए भने नेपालले पनि चीन र चिनियाँ सरकारप्रति सदा उच्च सम्मान प्रकट गर्दै आएको पाइन्छ ।
नेपाल र चीनबिचको सम्बन्धको अर्को महत्वपूर्ण आधार बौद्ध धर्म हो । लिच्छवि राजा अंशुवर्माकी छोरी भृकुटीको तिब्बती शासकसँग विवाह भएपछि नेपाल र तिब्बतबिचको सम्बन्धले नयाँ चरणमा प्रवेश गरेको मानिन्छ । भृकुटीले नेपाल र तिब्बतबिचको घनिष्ठ सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको तथा बौद्ध धर्मको प्रसारमा योगदान पुर्याएको इतिहासमा उल्लेख छ । पछि बौद्ध धर्म तिब्बत हुँदै चीनमा व्यापक रूपमा फैलियो । नेपालका विभिन्न बौद्ध भिक्षु तथा विद्वान् चीन पुगे र बौद्ध दर्शन तथा ज्ञानको विकासमा योगदान गरे । यस दृष्टिले बौद्ध दर्शन र संस्कृतिको विकासमा नेपालको योगदानलाई चीनसँगको सम्बन्धको महत्वपूर्ण पक्षका रूपमा हेरिन्छ ।
नेपाली कलाकार अरनिकोले चीनमा प्यागोडा शैलीका वास्तुकलायुक्त संरचना निर्माण गरी त्यसलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेले । उनको कला र वास्तुकौशलबाट चिनियाँ सम्राट् कुब्लाई खान प्रभावित भए । अरनिकोको योगदानले कला, संस्कृति र वास्तुकलाका माध्यमबाट नेपाल र चीनबिचको सम्बन्धलाई थप गहिरो बनायो । नेपाल र चीनबिचको औपचारिक सम्बन्धमा विभिन्न कालखण्डमा उतारचढाव आए पनि जनस्तरको सम्पर्क निरन्तर कायम रह्यो । मल्लकालमा नेपाल र तिब्बतबिच व्यापार निकै फस्टाएको थियो । नेपाल तिब्बतका लागि मुद्रा तथा विभिन्न आवश्यक सामग्रीको महत्वपूर्ण आपूर्तिकर्ता थियो । त्यस व्यापारबाट नेपालले पनि उल्लेखनीय आर्थिक लाभ प्राप्त गरेको थियो । एकीकरणपछि पनि नेपालले चीनसँगको सम्बन्धलाई प्राथमिकता दिँदै विशेषतः तिब्बतसँगको व्यापारलाई महत्व दियो । नेपाल–अङ्ग्रेज युद्धपछि भएको सुगौली सन्धिले नेपाललाई क्रमशः ब्रिटिस–भारतसँग नजिक ल्यायो र चीनसँगको सम्बन्ध तुलनात्मक रूपमा कम प्राथमिकतामा पर्यो ।
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको क्रान्तिले सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भयो । त्यसको केही समयपछि नेपाल पनि सन् १९५१ को राजनीतिक परिवर्तनसँगै प्रजातन्त्रको नयाँ युगमा प्रवेश गर्यो । चीनले आफ्नो आन्तरिक रूपान्तरणसँगै विदेश नीति सञ्चालनको नयाँ चरण सुरु गर्यो । नेपाल फेरि चिनियाँ विदेश नीतिको प्राथमिकतामा पर्न थाल्यो । नेपालको रणनीतिक भौगोलिक अवस्थिति र दुई देशबिचको लामो ऐतिहासिक सम्बन्ध चीनले नेपाललाई प्राथमिकता दिनुका प्रमुख आधारमध्ये थिए । नेपालमा सन् १९५१ को राजनीतिक परिवर्तनपछि राणा शासनकालको साँघुरो विदेश नीतिमा पनि क्रमशः परिवर्तन आयो । बदलिएको राजनीतिक तथा अन्तर्राष्ट्रिय परिवेशले नेपाल र चीनलाई सन् १९५५ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना गर्न मार्ग प्रशस्त गर्यो । त्यसयता नेपाल र चीनबिचको सम्बन्ध असल मित्रता र छिमेकीपनमा आधारित रहँदै आएको छ । दुवै देशले एकअर्काका संवेदनशीलता बुझ्ने र तिनको सम्मान गर्दै आएका छन् । चीन नेपालको विकास र स्थायित्वको महत्वपूर्ण साझेदारका रूपमा प्रस्तुत हुँदै आएको र नेपाललाई विकास एक महत्वपूर्ण विकास साझेदार रहँदै आएको छ ।
नेपालका लागि चीनसँगको सम्बन्धले भूराजनीतिक सन्तुलन कायम गर्न सहयोग पुर्याएको तर्क गरिन्छ । नेपालको भौगोलिक अवस्थिति चीनका लागि पनि महत्वपूर्ण छ । चीनसँग नेपालको लामो सीमा जोडिएको हुँदा नेपालमा हुने राजनीतिक तथा सामाजिक घटनाक्रमले चिनियाँ सुरक्षा चासोलाई पनि प्रभावित गर्न सक्छ । विशेषतः तिब्बतसँग सम्बन्धित विषय चीनका लागि संवेदनशील भएकाले नेपालले सधैँ एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आएको छ र आफ्नो भूमिलाई कुनै छिमेकीविरुद्ध प्रयोग हुन नदिने नीति निरन्तर स्पष्ट गर्दै आएको छ ।
चीनसँगको निकट सहकार्यबाट नेपालको आर्थिक रूपान्तरणमा महत्वपूर्ण अवसर प्राप्त हुन सक्छ । कुनै समय तुलनात्मक रूपमा पिछडिएको तिब्बत अहिले तीव्र गतिमा पूर्वाधार विकास र समृद्धिको बाटोमा अघि बढिरहेको छ । चीनले तिब्बतसम्म रेलमार्ग विस्तार गरिसकेको छ, जसले त्यहाँको भौतिक संरचना, व्यापार र जनजीवनमा परिवर्तन ल्याएको छ । रेल सञ्जाललाई तिब्बतका प्रमुख क्षेत्रसम्म विस्तार गर्ने चिनियाँ योजनाले नेपालसँगको कनेक्टिभिटीका नयाँ सम्भावना पनि सिर्जना गरेको छ ।
चीनको अभूतपूर्व विकास नेपालले अवसरका रूपमा उपयोग गर्न सक्नु पर्छ । विशेषतः उत्तरी नाकाको विकास, सडक तथा रेल सम्पर्क, व्यापारिक पूर्वाधार, पर्यटन, ऊर्जा र पारवहनका क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्न सके नेपालले आफ्नो बाह्य व्यापार विविधीकरण गर्न सक्छ जुन नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएको विषय हो । चीनको आर्थिक विकास, प्रविधि, पूर्वाधार र बजारबाट नेपालले अधिकतम लाभ लिन सक्ने वातावरण निर्माण गर्नु पर्छ । त्यसका लागि भावनात्मक नाराभन्दा स्पष्ट राष्ट्रिय हित, व्यावसायिक कूटनीति, सक्षम वार्ताकार, पूर्वाधार विकास र दीर्घकालीन रणनीतिक दृष्टिकोण आवश्यक हुन्छ ।
Comments
Post a Comment