प्रमको भारत भ्रमण र जनअपेक्षा
युवनाथ लम्साल: ----
नेपाल र भारत दुवै देशका जनताको वृहत्तर हितलाई ध्यानमा राख्दै द्विपक्षीय सम्बन्धलाई पुनर्संयोजन गरी नयाँ उचाइमा पुर्याउन गम्भीर देखिएका छन् । विशेष गरी नेपालमा वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनपछि यस प्रक्रियाले थप गति लिएको छ । भारत सरकार पनि नेपालको नयाँ सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सम्बन्ध तथा सहकार्य विस्तार गर्न बढी उत्साहित देखिन्छ ।
यस पृष्ठभूमिमा प्रधानमन्त्री वालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । २०८२ चैतमा प्रधानमन्त्रीको जिम्मेवारी समालेपछि उहाँको यो दोस्रो विदेश भ्रमण तथा पहिलो द्विपक्षीय भ्रमण हो । यसअघि उहाँले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई सम्बोधन गर्न गत असोजमा संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्नुभएको थियो ।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई विभिन्न कोणबाट चासो, जिज्ञासा र आशासाथ हेरिएको छ । परराष्ट्र मामिलाका जानकारदेखि आमनागरिकसम्ममा यस भ्रमणले के उपलब्धि हासिल गर्ला, कुन कुन विषयले प्राथमिकता पाउलान् र नयाँ दिल्लीमा हुने उच्चस्तरीय छलफलमा के कस्ता मुद्दा उठाइएलान् भन्ने जिज्ञासा छ । यस्तो जिज्ञासा रहुनु पनि स्वाभाविकै हो । प्रधानमन्त्री शाहको यस भ्रमणलाई उच्च अपेक्षासँगै केही सावधानीपूर्वक पनि हेरिएको छ । यसबारे प्रधानमन्त्रीले भ्रमणका क्रममा विशेष सतर्कता र सावधानी अपनाउनु आवश्यक छ । प्रचलित भनाइ छ, “मित्र रोज्न सकिन्छ, छिमेकी रोज्न सकिँदैन ।” त्यसैले छिमेकीसँगको सम्बन्धलाई परिस्थिति अनुरूप समायोजन गर्दै सुमधुर बनाइराख्नु पर्छ । छिमेकी सधैँ नजिकै हुन्छ र शान्ति तथा समृद्धिका लागि ऊसँग असल एवं सहयोगात्मक सम्बन्ध कायम गर्नु अपरिहार्य हुन्छ । छिमेकी मुलुकबिच प्रायः विभिन्न समस्या र मतभिन्नता हुन्छन् तर सँगसँगै सहकार्य र लाभ आदानप्रदानका अवसर पनि उपलब्ध हुन्छन् । साझा हितका अवसरको पहिचान र उपयोग गर्नु पर्छ भने समस्यालाई कूटनीतिक कौशल र सुझबुझका माध्यमबाट समाधान गर्नु पर्छ ।
नेपाल र भारत भूगोल, इतिहास, संस्कृति, सामाजिक मूल्यमान्यता, सभ्यता, नदी प्रणाली तथा आर्थिक अन्तरसम्बन्धले जोडिएका निकटतम छिमेकी हुन् । यी दुई देशबिच एक हजार आठ सय किलोमिटरभन्दा लामो खुला सीमा छ र सामाजिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक समानताका अनेक पक्ष छन् । विभिन्न क्षेत्रमा यी दुई मुलुकबिच रहेको परस्पर निर्भरता र बहुआयामिक सम्बन्ध विश्वका अन्य दुई देशबिच बिरलै पाइन्छ । अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपाल र भारतका दृष्टिकोण अधिकांश विषयमा समान छन् । तथापि केही विषयमा दुवै देशका धारणा तथा अडानमा भिन्नता पनि छन् ।
भनिन्छ, मुलुकहरू भूगोलका बन्दी हुन्छन् । अर्थात् भूगोलले धेरै हदसम्म दुई देशबिचको सम्बन्धको प्रकृति र दिशा निर्धारण गर्छ । नेपाल तीनतिर पूर्व, पश्चिम र दक्षिणमा भारत तथा उत्तरमा चीनले घेरिएको भूपरिवेष्टित मुलुक हो तर व्यावहारिक दृष्टिले हेर्दा नेपाल भूपरिवेष्टित मात्र नभई भारतमा बढी निर्भर रहेको मुलुकका रूपमा पनि देखिन्छ । यस भौगोलिक यथार्थले नेपाललाई भारतसँगको सम्बन्धलाई विशेष प्राथमिकतासाथ व्यवस्थापन गर्न र मैत्रीपूर्ण एवं सहयोगात्मक सम्बन्ध कायम राख्न बाध्य बनाएको छ ।
निकट छिमेकी भएका कारण नेपाल र भारतबिच समस्या र सम्भावना दुवै छन् । त्यसैले पारस्परिक लाभ सुनिश्चित गर्दै विभिन्न क्षेत्र र आयाममा सम्बन्ध व्यवस्थापन, सहकार्य र साझेदारी गर्नु यी दुवै मुलुकको साझा आवश्यकता र बाध्यता हो । दुवै देशका नेता यस वास्तविकताप्रति जानकार छन् । यद्यपि कहिलेकाहीँ राजनीतिक स्वार्थ र आन्तरिक राजनीतिको प्रभावले दुई निकटतम छिमेकीबिचको सम्बन्धलाई अनावश्यक रूपमा जटिल बनाउने गरेको छ । नेपाल र भारतका जनताको वृहत्तर हित तथा साझा समृद्धिका लागि यी दुई मुलुकबिच अझ घनिष्ठ सहकार्य अपरिहार्य छ । यसका लागि राजनीतिक नेतृत्व, सरकारी अधिकारी, राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा आमजनतासहित सबै तहमा संवाद, सम्पर्क र अन्तक्रिया विस्तार गर्न आवश्यक छ ।
भारत अहिले आर्थिक तथा सामरिक कारणले महत्वपूर्ण शक्तिका रूपमा उदय हुँदै आएको छ । विश्व बैङ्कका अनुसार सन् २०११ देखि २०२३ सम्ममा भारतले ५० करोडभन्दा बढी मानिसलाई गरिबीबाट माथि उकासेको छ भने चरम गरिबीको दर २७ प्रतिशतबाट घटाएर २.६ प्रतिशतमा झारेको छ । भारतको आर्थिक रूपान्तरण र विकासको अनुभवबाट नेपालले सिक्न र लाभ लिन सक्नु पर्छ र यो नेपालको लागि ठुलो अवसर पनि हो । साथै आफ्नो सबैभन्दा नजिकको छिमेकी विश्वको आर्थिक शक्ति हुनु नेपालका लागि गौरवको विषय पनि हो । त्यसैले दुई देशबिचको सम्बन्धलाई थप सुमधुर, विश्वासपूर्ण र सहयोगात्मक बनाउनु आवश्यक छ । भारतले पनि नेपालसँगको सौहार्दपूर्ण सम्बन्ध र घनिष्ठ सहकार्य आफ्नै दीर्घकालीन हितमा रहेको तथ्य आत्मसात् गर्नु पर्छ ।
निकटता र घनिष्ठताका साथै नेपाल र भारतबिच केही जटिल तथा संवेदनशील मुद्दा छन्, जसले बेलाबखत द्विपक्षीय सम्बन्धमा असहजता र तनाव उत्पन्न गर्ने गरेका छन् । सीमा जोडिएका र बहुआयामिक सम्बन्ध भएका मुलुकबिच विवाद देखिनु अस्वाभाविक होइन । सम्बन्ध र संलग्नता जति व्यापक हुन्छन्, त्यति नै विविध विषयमा मतभिन्नता र विवाद उत्पन्न हुने सम्भावना रहन्छ । नेपाल–भारतबिचका समस्यामा सीमासम्बन्धी विवाद, व्यापार, जलस्रोत र त्यसबाट प्राप्त हुने लाभको बाँडफाँट, सीमापार अपराध, हवाईमार्ग, सुरक्षा चासो तथा केही पुराना सन्धिसम्झौताका प्रावधानलगायतका विषय छन् । इतिहासका विभिन्न कालखण्डमा यी विषयले दुई निकटतम छिमेकीबिचको सम्बन्धमा उतारचढाव र असहजता उत्पन्न गरेका पनि छन् । तथापि दुवै मुलुकले यस्ता विषयलाई व्यवस्थापन गर्दै सम्बन्धलाई अगाडि बढाउन सफल भएका छन् । केही मुद्दामा मतभिन्नता रहे पनि निकट छिमेकीका रूपमा सम्बन्धलाई सुमधुर र सन्तुलित राख्नुको विकल्प दुवैसँग छैन ।
विभिन्न समयमा नेपालले भारतबाट लगाइएका आर्थिक नाकाबन्दीको सामना गर्नु परेको तितो यथार्थ पनि हाम्रोसामु छ । यसले विभिन्न पुस्ताका नेपाली जनमानसमा भारतप्रति एकप्रकारको संशय र अविश्वास पैदा गरेको छ । भारतका केही अभिजात वर्गका मानिसले यसलाई भारतविरोधी भाष्यका रूपमा व्याख्या गर्ने गरेका छन् । नेपालमा पनि एउटा सानो तप्काले आफ्नो क्षुद्र राजनीतिक स्वार्थका लागि भारतलाई ‘क्षेत्रीय प्रभुत्ववादी’ का रूपमा चित्रण गर्ने प्रयास गर्छ । त्यसै गरी भारतको एउटा तप्काले नेपालले ‘चीन कार्ड’ खेल्ने गरेको आरोप पनि लगाउँछ तर यी धारणा समग्र नेपाली र भारतीय जनमतका प्रतिनिधि विचार भने पटक्कै होइनन् । वास्तवमा अधिकांश नेपालीको भारतप्रति मैत्रीपूर्ण र सकारात्मक दृष्टिकोण छ । उनीहरू भारतसँग अझ घनिष्ठ, विश्वासपूर्ण र सहयोगात्मक सम्बन्ध चाहन्छन् । त्यस्तै भारतीय जनसङ्ख्याको ठुलो हिस्सामा पनि नेपालप्रति आत्मीयता र सकारात्मक भावना छ ।
त्यसै गरी नेपालका सम्बन्धमा भारतका पनि चासो र संवेदनशीलता छन्, जसलाई नेपालले सम्बोधन गर्नु पर्छ । नेपालले भारतविरुद्ध कुनै पनि प्रकारको रणनीतिक कार्ड खेल्नु हुँदैन र खेलिरहेको छैन भन्ने भारत जस्तो निकट छिमेकी र महत्वपूर्ण विकास साझेदार देशलाई विश्वास दिलाउनु पर्छ । त्यसैले नेपाल र भारतबिचका सबै समस्या तथा विवादलाई एकअर्काको चासो र संवेदनशीलताको सम्मान गर्दै खुला, स्पष्ट र मैत्रीपूर्ण संवादमार्फत समाधान गर्नु पर्छ । समस्यालाई थाती राख्ने प्रवृत्तिले दीर्घकालीन समाधान दिँदैन । कुनै खास विषयमा रहेका मतभिन्नता र विवादका कारण समग्र सम्बन्ध तथा सहकार्यलाई अवरुद्ध पार्ने अवस्था सिर्जना हुन दिनु हुँदैन ।
नेपाल र भारतबिच सहकार्यका सम्भावना र क्षेत्र व्यापक छन् । दुवै मुलुकले पारस्परिक हितका सम्भावित क्षेत्रको गम्भीरतापूर्वक पहिचान गरी जनताको साझा हितका लागि संयुक्त प्रयास गर्नु पर्छ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाली जनताको व्यापक सद्भाव र अपेक्षासाथ भारत भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री शाह पनि नेपाल र भारतबिचको सौहार्दपूर्ण सम्बन्ध तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउँदै नयाँ उचाइमा पु¥याउन चाहनुहुन्छ । यसका लागि प्रधानमन्त्रीको भ्रमणले आवश्यक राजनीतिक आधार र अवसर प्रदान गर्ने छ ।
नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेपछि ‘छिमेकी पहिलो’ नीतिलाई प्राथमिकता दिइएको छ । सन् २०१४ मा नेपालको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारतबिचको सम्पर्क सञ्जाल विस्तार र पूर्वाधार विकासलाई लक्ष्य गर्दै ‘हिट’ (राजमार्ग, सूचना मार्ग र प्रसारण मार्ग) को अवधारणा अघि सार्नुभएको थियो । उक्त अवधारणा अझै अपेक्षित रूपमा कार्यान्वयनमा आउन भने सकेको छैन तर अहिले परिस्थिति बदलिएको छ । दुई देशबिच सहकार्य र समझदारीको नयाँ वातावरण विकसित हुँदै गएको छ । प्रधानमन्त्री शाहको भ्रमणले यस सकारात्मक वातावरणलाई थप सुदृढ र गतिशील बनाउने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको भ्रमण दुई निकटतम छिमेकीबिचको सम्बन्ध र सहकार्यलाई पुनः सन्तुलित गर्दै नयाँ उचाइमा पु¥याउने अवसरका रूपमा आएको छ तर यसको सफलता पर्याप्त तयारी, स्पष्ट कार्यसूची र प्रभावकारी गृहकार्यमा निर्भर रहने छ । भ्रमणको प्राथमिक उद्देश्य दुई सरकारबिच विश्वासको वातावरण निर्माण गर्नु तथा एकअर्काका धारणा, चासो र अडानलाई स्पष्ट रूपमा बुझ्ने हुनु पर्छ । लामो समयदेखि थाती रहेका सबै समस्या एउटै भ्रमणबाट समाधान हुन सम्भव छैन । यस भ्रमणले सम्बन्धमा नयाँ दिशा र गति प्रदान गर्दै बाँकी मुद्दालाई प्राथमिकताका आधारमा क्रमिक रूपमा समाधान गर्ने मार्ग प्रशस्त गर्न सक्छ ।
विशाल छिमेकी मुलुकबिच अवस्थित सानो भूपरिवेष्टित राष्ट्रका रूपमा नेपालले आफ्नो राष्ट्रिय हित र सार्वभौमिकताप्रति बढी संवेदनशीलता देखाउनु स्वाभाविक हो । ठुला छिमेकीले यस यथार्थलाई बुझ्नु पर्छ । नेपाली जनताको मनमा रहेका आशङ्का र संशय हटाउन भारतले पनि त्यस अनुरूप व्यवहार गर्नु आवश्यक छ । त्यसै गरी नेपालले पनि भारतका संवेदनशीलता र मूलभूत सुरक्षा चासोलाई बुझ्नु पर्छ र नेपालको राष्ट्रिय हितसँग नबाझिने हदसम्म तिनलाई सम्बोधन गर्नु पर्छ । दुई देशबिचको असल छिमेकी सम्बन्ध पारस्परिक हित, विश्वास र संवेदनशीलताको सम्मानमा आधारित हुनु पर्छ ।
भारतले ‘छिमेकी पहिलो’ नीतिमार्फत नेपाल जस्ता छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकता दिने घोषणा गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै अपेक्षित स्तरमा हुन सकेको छैन । यसको एउटा कारण भारतको कर्मचारीतन्त्रमा विद्यमान नेहरू–गान्धी युगको परम्परागत मनोविज्ञान र कार्यशैली हुन सक्छ । विशेष गरी नेपाल जस्ता साना छिमेकीसँगको सम्बन्ध सञ्चालन गर्दा मोदी नेतृत्वको भारतले परम्परागत र सङ्कीर्ण मानसिकताबाट बाहिर निस्कनु आवश्यक छ । बदलिँदो क्षेत्रीय तथा विश्व राजनीतिक परिवेशमा छिमेकीसँगको सम्बन्ध पुरानो शक्तिकेन्द्रित दृष्टिकोणबाट नभई समानता, पारस्परिक सम्मान र साझा हितका आधारमा अघि बढाइनु पर्छ ।
Comments
Post a Comment